जोडिनुहोस
  • होमपेज
  • युद्धग्रस्त गाजामा भयावह स्वास्थ्य अवस्थाः न बेड छ, न त औषधि

युद्धग्रस्त गाजामा भयावह स्वास्थ्य अवस्थाः न बेड छ, न त औषधि

काठमाडौँ।युद्धग्रस्त क्षेत्र गाजापट्टी र रफाह क्रसिङ्ग बोर्डरमा औषधि अभाव हुन थालेको छ । रफाह स्थित शहीद मोहम्मद यूसुफ अल–नजर अस्पतालमा बिरामीलाई चाहिने आवश्यक औषधि अभाव भएपछि समस्या उत्पन्न भएको हो ।

बीबीसीका अनुसार अस्पतालका निर्देशक डा। मारवान अल–हमले अस्पतालमा जम्मा ६३ शैंया रहे पनि हाल १४५ जना बिरामीको उपचार भइरहेको बताए । उनले बिरामीको यो संख्या अस्पतालको क्षमताभन्दा दोब्बर रहेको भन्दै उपचारमा समस्या हुन थालेको बताए ।

डा। अल–हमले विद्यालय, राहत शिवर र बाँकी रहेका घरहरूमा फैलिँदै गएको रोगका कारण औषधि अभावको समस्या निकै गम्भीर स्तरमा पुगेको भन्दै अस्पतालमा थप बिरामीलाई भर्ना गर्ने अवस्था नरहेको बताए । उनका अनुसार गाजा पट्टीका अस्पतालहरूमा गम्भीर झाडापखाला, थकाइ र उच्च तापक्रमका कारण पीडित बिरामीहरू आउन थालेका छन् । दूषित पानी, असुरक्षित खाद्य पदार्थ र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका कारण यी समस्या फैलिरहेको उनको भनाइ छ ।

डा।अल–हमलेका अनुसार मानिसहरूमा छाला सम्बन्धी रोग पनि फैलिन थालेको छ। अस्पताल र स्वास्थ्य केन्द्र पुग्ने अधिकांशमा दादुरा देखिन थालेको छ । जसका कारण हालसम्म ४ हजार ५ सय ९३ जना प्रभावित भइसकेका छन् । त्यस्तै रुबेलाका कारण हालसम्म ५ जना सङ्क्रमित भइसकेका छन् भने मेनिन्जाइटिसका कारण ११५ जना प्रभावित भएका छन् ।

डा। अल–हमले छाला चिलाउने र विविरा आउने जस्ता समस्याका कारण हालसम्म ३५ हजारभन्दा बढी प्रभावित भएको र उनीहरूलाई औषधि दिन नसकेको सुनाए । त्यसबाहेक लुतोका कारण १९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार रगतमासिका ३५० केस दर्ता भएको छ । साथै गाजाका मानिसमा जन्डिस पनि देखिन थालेको छ । हालसम्म ४ हजारभन्दा बढी जन्डिसका कारण मानिसहरू संक्रमित भएका छन् । यो संख्या दिन प्रतिदिन बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि गाजामा स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । गाजामा रहेका अस्पतालहरू आक्रमणका कारण ध्वस्त भएका छन् भने बाँकी रहेका केही अस्पतालमा पनि आवश्यक औषधि र जनशक्ति अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको भन्दै सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

गाजाको उत्तरमा एक र दक्षिणमा १० अस्पतालमा बिरामीको उपचार भइरहे पनि समस्या चिन्ताजनक रहेको सङ्गठनले बताएको छ । साथै दुई महिनादेखि जारी युद्धपछि प्रति ७ सय जनाका लागि औसतमा १ नुहाउने स्थान र १५० जनाका लागि १ मात्रै चर्पी उपलब्ध रहेको सङ्गठनले बताएको छ । आवश्यक खाद्यान्न र खानेपानी अभावका साथै सरसफाइका लागि चाहिने आवश्यक ह्यान्डवास, डिर्जेन्ट, साबुन लगायतको पनि अभाव रहेको हुँदा संक्रमण थप फैलिरहेको सङ्गठनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका