Wed May 18 2022
अन्तर्वार्ता

झिँगा समेत नउम्कने गरी मारिउपोल घेराबन्दी गर्न पुटिनको निर्देशन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकहरूलाई रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलमा आक्रमण रोक्न निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार पुटिनले आफ्ना फौजलाई मारिउपोलमा आक्रमण नगर्न निर्देशन दिएका हुन् ।

उनले आक्रमण नगरी शहरमा घेराबन्दीलाई ‘झिँगा पनि उम्कन नसक्नेगरी’ अझ मजबुत बनाउन निर्देशन दिएको बताइएको छ ।

त्यस्तै, रुसी रक्षामन्त्री सर्गेई सोइगुले एजोभस्तल औद्योगिक क्षेत्रबाहेक मारिउपोलका सबै क्षेत्रलाई ‘मुक्त गरिसकेको’ बताएका छन् । पुटिनले यसलाई ‘सफलता’ को रुपमा चित्रित गरेको एपीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध आक्रमण थालेयता रुसी सैनिक मारिउपोल शहर कब्जा गर्न प्रयासरत छन् । यसका लागि रुसले मारिउपोलमा रहेका युक्रेनी फौजलाई बारम्बार आत्मसमर्पण गर्न प्रस्ताव पनि गर्दै आएको छ ।

यद्यपि युक्रेनी पक्षले मारिउपोल शहर आत्मसमर्पण नगर्ने अडान लिँदै आएका छन् । भीषण युद्धका कारण मारिउपोल शहर भग्नावशेषमा परिणत भएको बताइएको छ ।