Wed May 18 2022
मुख्य खबर

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।

मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नु भएका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नु भएको हो ।

भेटवार्ताको क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उहाँले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री खतिवडाले बताउनुभयो । त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यसैगरी उहाँले टेकु अस्पतालमा रहेको ल्याव निरिक्षण गर्ने, पाटन स्कुलको निरिक्षण गर्ने लगायतको कार्यक्रम रहेको जनाइएको छ ।

भेटवार्ताको क्रममा उहाँले कोभिड –१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भनि प्रशंसा गरेको मन्त्री खतिवडाले बताउनुभयो ।