Sun May 22 2022
मुख्य खबर

गर्भनर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीबीच सल्लाह भएको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताउनु भएको छ ।

आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएको जिकिर गर्नु भएको हो । उहाँले सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएकोसमेत बताउनु भयो । १३ गते अदालतमा दुवैका कुरा आउने बताउँदै उहाँले त्यसपछि मात्रै के भएको हो भन्न सकिने बताउनु भयो ।

दाहालले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने विश्वाससमेत व्यक्त गर्नु भयो । महानगरपालिका र उपमहानगरपालिकाका विषयमा गठबन्धनमा भएका सहमतिहरू कार्यान्वयनमा समस्या नरहेको उहाँको भनाइ छ । केही स्थानीय तहमा विवाद भएको स्वीकार्दै उहाँले छलफलबाट समाधान निस्कने दाबी गर्नुभयो ।

कैलालीमै आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले ठूलो असर पारेको बताउनु भयो । उक्त घटनामा सामेल नभएकाहरु पनि जेलमा रहनुपरेको भन्दै अध्यक्ष दाहालले दुःख व्यक्त गर्नुभयो । त्यस्तै घटनामा रेशम चौधरीको कुनै सहभागीता नरहेको पनि दाहालले बताउनु भयो ।