जोडिनुहोस
  • होमपेज
  • तनहुँको थानीमाई धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै

तनहुँको थानीमाई धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै

तनहुँ– तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।

पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मङ्गलबार र सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ ।

सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले बताए ।

यहाँ विशेष गरी मङ्गलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन् । अध्यक्ष थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन् ।

थापाले भने, ‘मन्दिरमा विशेष गरी कात्तिक र मङ्सिरको मङ्गलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कात्तिकमा दसैँ र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो ।’

प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत चित्ताकर्षक हिमशृङ्खला देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका