जोडिनुहोस
  • होमपेज
  • नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिँदैछ : प्रधानमन्त्री दाहाल

नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिँदैछ : प्रधानमन्त्री दाहाल
काठमाडौँ—प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विश्व समुदायलाई मानवतासम्बन्धी नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उहाँले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताउनुभयो ।
“विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्तिको सन्देश पनि नेपालले नै दियो । मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ । यहीबाट नेपाललाई चिनाउन सकिन्छ ।” मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै उहाँले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभयो ।
“विभिन्न धर्म, राजनीतिक वाद, जेजे भनिए पनि ती सबै मानव सेवाका लागि ल्याइएको हो । कुनै पनि रुपमा विभाजित नभएर एकताबद्ध भएर मानव सेवामा लाग्नुहोला, असहायलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहलाई मानव सेवाको अभियानमा सक्रियतापूर्वक लाग्नु पर्ने भन्दै मानवताको क्षेत्रमा अविचलित रुपमा खटिइने सामाजिक संस्था तथा व्यक्तिलाई सहयोग गर्नसमेत अपिल गर्नुभयो ।
संविधानसभाबाट जारी संविधानले ऐतिहासिक रुपमा आमजनतालाई सार्वभौम बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको इतिहासमा कहिल्यै पनि जनता सार्वभौम भनेर संविधानमा उल्लेख गरिएको थिएन । संविधानसभाबाट बनेको पहिलो संविधानमा नेपाली जनतालाई सार्वभौम बनायो, यो युगान्तकारी र ऐतिहासिक छ ।” संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायत महत्वपूर्ण मौलिक अधिकारलाई समावेश गरिएको छ जनाउँदै उहाँले आम जनतालाई सार्वभौम बनाउने र कोही पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाबाट वञ्चित हुन नपर्ने घोषणा ऐतिहासिक छन् भन्नुभयो ।
संविधानले निर्दिष्ट गरेको तथा राज्यले गर्नुपर्ने काम मावन सेवा आश्रमले गर्दै आइरहेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिनुभयो । मौलिक हकको कार्यान्वयका क्रममा मानव सेवा आश्रमले ठूलो सहयोग गरेको उहाँको भनाइ थियो । उहाँले विसं २०८२ सम्म नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने सरकारको अभियानमा सामाजिक संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सातै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण, सडक मानवलाई उद्धार गर्न सवारी सधानको व्यवस्था तथा १० हजार असहायलाई आर्थिक सहयोग गर्न सरकार तयार रहेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका