Fri May 20 2022
मुख्य खबर

तराईका जनताले एमालेलाई मात्र स्वागत गर्छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन । विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै उनले अहिले तराई मधेशमा एमालेमा प्रवेश गर्नेको लहर बढेको बताएका हुन ।

बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस पटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताए ।

उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको जनलहर आएको जिकिर गरे । मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उनले बताए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।

अध्यक्ष ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा माधव नेपालहरुले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफुसँग नरहेको उनले उल्लेख गरे । उनले पाँच दलीय गठबन्धनले झापामा राप्रपालाई साझा उम्मेदवार बनाएकाले अब उक्त गठबन्धन छ दलीय गठबन्धन बनेको टिप्पणी गरे ।

यस्तै अध्यक्ष ओलीले एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलेको टिप्पणी गरे । तत्कालिन नेकपामा माओवादी अध्यक्ष दाहालले आफुलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथ १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको आरोप लगाए ।

अध्यक्ष ओलीले आगामी निर्वाचन पछाडी नेकपा एमाले संवैधानिक रुपमा, मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने दावी गरे ।