Mon May 23 2022
मुख्य खबर

ऐतिहासिकस्थल तनहुँसुरलाई पुनर्जीवन दिन कस्सिए स्थानीय

नारायण खड्का

तनहुँ । बसाईसराईले उजाडिंदै गएको तनहुँको ऐतिहासिकस्थल तनहुँसुरलाई पुनर्जीवन दिन स्थानीय लागि परेका छन् । सेवा, सुविधाको खोजीमा स्थानीयबासी शहर केन्द्रित हुँदै जाँदा अहिले परम्परागत संरचनाहरु खण्डहर बनेका थिए । आधारभूत आवश्यकताहरु पनि सहज रुपमा उपभोग गर्न नपाउँदा यहाँका बासिन्दाहरु आसपासका बजार क्षेत्र तथा बेंसीमा बसाईसराई गरेका कारण गाउँ नै सुनसान छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदा खण्डहरु बन्दै गएपछि अहिले विभिन्न सरोकारवाला संघ संस्था तथा स्थानीय पर्यटकीय गतिविधिमार्फत तनहुँसुरलाई पुनर्जीवित गराउने अभियानमा जुटेको कालिका भगवटी टोल विकास संस्था तनहुँसुरका अध्यक्ष ज्ञानभक्त थापाले बताए । व्यास नगरपालिकाको अगुवाईमा डिभिजन वन कार्यलय, पुरातत्व विभाग काठमाडौं, सम्पदा नेपाललगायतका संघ संस्थाहरुले तनहुँसुरमा पर्यटन, जैविक खेती, नविकरणीय उर्जा प्रणालीका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याएका छन् ।

यूएनडिपीरएसजिपिको आर्थिक सहयोगमा उर्जा तथा वातावरण नेपालले तनहुँसुर क्षेत्रको वनजंगल तथा जैविक विविधता, ऐतिहासिक सम्पदाको संरक्षणका साथै घरबास कार्यक्रम सञ्चालन गरेसँगै स्थानीयबासीको जीवनस्तरमा परिवर्तन मात्र नभई गाउँमै आम्दानीको माध्यम बन्न पुगेको छ ।

तनहुँसुरमा आउने पर्यटकका लागि खाना र बाँस बस्न स्थानीयले देवस्थल र तनहुँसुर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् । गाउँमा होमस्टे सञ्चालन भएपछि गाउँको स्वरुप नै परिवर्तन भएको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेका अध्यक्ष पदमबहादुर थापाले बताए । त्यहाँका करिव १२३ घरधुरीलाई समेटेर सहभागितामुलक तनहुँसुर क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत परियोजना सञ्चालन गरिएसँगै अहिले उजाडिदै गएको तनहुँसुरमा मानिसको आउजाउ बढेको छ ।

ऐतिहासिक, पुरात्वविक संरचनाको संरक्षण तथा यसको महत्वको विषयमा अभिमुखीकरण, आर्गानिक तरकारी खेतीसम्बन्धी आधारभूत तालिम, तनहुँसुर ईको ट्रेकको सम्भाव्यता अध्ययन, खानेपानीको व्यवस्थापन, भ्यू पोइण्ट निर्माण, कृषि तथा पर्यटनसम्बन्धी ज्ञान, होमस्टे प्रवद्र्धन, वन डढेलो रोकथाम तथा नियन्त्रणलगायतका कार्यक्रमले तनहुँसुरलाई पुनर्जीवन दिएको छ ।

यस्तै, खेलकुदका माध्यमबाट समेत तनहुँसुरको विकास गर्ने लक्ष्यका साथ गत वर्षदेखि व्यास नगरपालिकाले दमौलीदेखि तनहुँसुरसम्म २२ किलोमिटर दूरीको महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ६ दशमलव ३ किलोमिटर दूरीको तनहुँसुर इको ट्रेकको नक्शांकन गरी आवश्यक पुर्वाधार तयार गरिएको छ । तनहुँसुर आफैमा ऐतिहासिक र पर्यटकीयस्थल भएकाले आवश्यक पूर्वाधार निर्माण गर्न सके पर्यटकीय गतिविधिबाट खण्डहर बनेको तनहुँसुर पुनर्जीवित हुने सम्पदा नेपालका अध्यक्ष अरिसिंह गुरुङले बताए ।