काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दैछ ।
कार्यसमिति बैठक बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ ।
केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पौडेलले बताए । यसअघि हिजो बस्ने भनिएको थियो ।
कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति सदस्यहरु मनोनयन गरेका छन् ।
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समिति सदस्यमा किरण गिरी, आनन्द सन्तोषी राई, डीपी अर्याल, डीपी उपाध्याय, गणेश केसी, श्याम विश्वकर्मा, दिलीपाश्री अधिकारी र मनोज चौधरी मनोनीत भएका हुन् ।