Wed May 18 2022
समाचार

विनाशकारी भूकम्प गएको आज सात वर्ष पूरा

२०७२ साल वैशाख १२ गते आजकै दिन विनाशकारी भूकम्प गएको सात वर्ष पूरा भएको छ ।गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज सात वर्ष पूरा भएको हो । भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो । बितेका सात वर्षमा सरकारले अधिकांश ब्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, वसन्तपुर दरवार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुनर्निर्माण गरिएको छ ।

केही अझै पुनर्निर्माणको क्रममा छन । सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएनको सहयोगमा बनेको गोरखा जिल्लाको धार्चे गाउँपालिका गुप्सीपाखामा बनेको एकीकृत नमुना बस्तीका ५ सय ७३ घरमध्ये अहिले मुस्किलले ५० वटा घरमा मात्र मानिस बसेका छन् । बस्ती विकास कार्यक्रम थालिएका समेत गरी २२ जिल्लाका ७९ वटा बस्ती बाहिरबाट हेर्दा निकै आकर्षक बने पनि त्यहाँ मानिस आकर्षित हुन नसक्नुका कारण नै जिविकोपार्जन हो ।

तर, भूकम्पपछि बनेका एकीकृत बस्तीमा मानिसको जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत आवश्यकता नै पूरा गराउने विषय नभएपछि मानिसको अरुचि बढेको छ । अधिकांश एकीकृत नमुना बस्ती असफल योजना जस्तै बनेका छन् ।यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न जोड दिनुभएको छ । विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायका विषयमा समुदाय स्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने उहाँले बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले सातौँ भूकम्प स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहने पनि उल्लेख गर्नुभएको छ ।