काठमाडौँ– पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना गरे ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।
इरानका लागि नेपाली राजदूतमा नियुक्त भएकोमा राष्ट्रपति अयातोल्लाहले अधिकारीलाई स्वागत गर्दै बधाई दिए ।
राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गरे ।