निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा आज र भोलि छानबिन गर्ने भएको छ ।
आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरीको समय तोकिएको थियो ।
प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगले जानकारी दिएको छ । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिने जनाएको छ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
आयोगका अनुसार ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।