जोडिनुहोस
  • होमपेज
  • चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर

चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर

काठमाडौं।सरकारले चीनबाट ल्याइएका ग्राउण्डेड जहाजहरू कवाडीमा बेच्न बिहीबार टेन्डर आह्वान गरेको छ ।

प्राविधिक रूपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउण्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कवाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो । बिहीबार प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा खरिद गर्न फेब्रुअरी ४ सम्ममा नेपाल एअरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ ।

एअरलाइन्ससँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज ९दुई वटा एमए ६० र ३ वटा वाई १२ ई० जहाज बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।

आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एअरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन् । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ । त्यसैले निगमले ती जहाज अब नउडाउने निर्णय लिएको छ ।

यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाती निर्णय हुने निष्कर्ष निकाल्दै निगमले यी जहाजको जिम्मा लिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो नदिएपछि भाडामा लगाउन खोजेको थियो । भाडामा लिन पनि कोही इच्छुक नभएपछि बिक्री गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका