Wed May 18 2022
मुख्य खबर

काँग्रेसको घोषणापत्रमा राजनीतिक दस्ताबेज नभएको ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताउनुभयो । अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको समेत टिप्पणी गर्नुभयो । उहाँले काँग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताउनुभयो । उहाँले काँग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन लक्षित घोषणापत्रमा वहसका लागि आउन चुनौति दिनुभयो । उहाँले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइ दिने बताउनुभयो । जागिर चाहियो भने बालकोट आउन र ट्युसन सेन्टर खोल्ने ठाउँ मिलाइ दिने समेत बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताउनुभयो । उहाँले काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नदिएको आरोप लगाउनुभयो ।