Sat May 21 2022
अन्तर्राष्ट्रिय

युक्रेनलाई ३३ अर्ब डलर सहयोग गर्ने बाइडेनको प्रस्ताव

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ३३ अर्ब डलर बराबरको सहयोग प्रस्ताव गरेका छन् । रुसले गरिरहेको आक्रमणको सामना गरिरहेको युक्रेनलाई सहयोगको लागि बाइडेनले नयाँ प्रस्ताव अघि सारेका हुन् । जसमा युक्रेनलाई सैन्य आर्थिक र मानवीय सहायताको लागि उक्त प्रस्ताव गरिएको हो ।

बाइडेनले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आउनको लागि अमेरिकी संसदबाट पारित हुनुपर्छ । बाइडेनले सांसदहरुलाई यो प्रस्ताव पारित गर्नु निकै महत्वपूणर् हुने उल्लेख गरेका छन् । यो सहयोगले युक्रेनलाई आफ्नो सुरक्षा आफैं गर्न सहयोग गर्ने बाइडेनको भनाइ छ ।

बाइडेनको प्रस्तावअनुसार युक्रेनलाई अमेरिकाले युक्रेनलाई २० अर्ब डलरबराबरको सैन्य सहयोग प्रदान गर्नेछ भने ८ अर्ब ५० कराड डलरको आर्थिक सहयोग उपलब्ध गराउनेछ । त्यस्तै ३ अर्ब डलरको मानवीय सहायता प्रदान गरिनेछ ।

बाइडेनले यो सहयोग त्यति सस्तो नभए पनि आगामी दिनमा रुसको आक्रामकतालाई अघि बढ्ने अवसर दिने हो भने त्यो झन् धेरै महँगो साबित हुन सक्ने बताए । अमेरिकाले यसअघि नै युक्रेनलाई आर्थिक सहयोग गर्दै आए पनि यो निकै महत्वपूणर् सहयोग हो । बाइडेनले अमेरिकाले गरेको सहयोगले रुसले युक्रेनमा पठाएको हरेक सैन्य ट्यांकको लागि युक्रेनले १० वटा ट्यांक खरिद गर्न सक्ने बताए ।

उनले अमेरिकाले रुसमाथि आक्रमण नगरेको दाबी गरे । उनले आफूहरुले युक्रेनलाई आफ्नो सुरक्षाको लागि मात्र सहयोग गरेको बताए । यसअघि बिहीबार अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले पश्चिमा मुलुकले युक्रेनलाई गरेको सहयोगले युरोपमा सुरक्षाको जोखिम बढेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले आणविक हतियार प्रयोगको विषयमा बेकारका प्रतिक्रिया नदिन पनि रुसलाई आग्रह गरे। यसअघि रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी दिनमा आणविक हतियारको प्रयोग हुन सक्ने जोखिम कायम रहेको बताएका थिए ।