जोडिनुहोस
  • होमपेज
  • सात दिनपछि सेयर बजारमा ‘करेक्सन’, ३२ अंकले घट्यो नेप्से

सात दिनपछि सेयर बजारमा ‘करेक्सन’, ३२ अंकले घट्यो नेप्से

लगातार बढेको ७ कारोबार दिनपछि सेयर बजारमा बिहीबार आठौं दिन ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा कायम भएको छ । यसअघि २६ मंसिरदेखि निरन्तर बजार बढिरहेको थियो ।

७ कारोबार दिनपछि घटेको बजारलाई सामान्य करेक्सनका रुपमा औंल्याइएको छ । बजारका जानकार मुक्ति अर्यालले बढेको ७ र ८ दिनपछि करेक्सन हुनु सामान्य रहेको र बीचबीचमा करेक्सन आउँदा बजार झन् बलियो बन्ने बताए । ‘लगातार बढेपछि करेक्सन जरुरत थियो, यसले बजारलाई परिपक्व बनाउँदै लैजान्छ, अरु केही दिन करेक्सन भएमा त्यसलाई सामान्य मान्नुपर्छ’ उनले भने । बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ९५ करोडको कारोबार भएकोमा यस दिन ६ अर्ब २७ करोडको कारोबार भयो । कुल ५० कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ३ को स्थिर रह्यो । उत्पादन र ब्यापार बाहेकका सबै समूह घटेका छन् । उत्पादन समूह २ दशमलव ३ प्रतिशत र व्यापार ० दशमलव ५ प्रतिशत बढ्यो । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३–३ प्रतिशत घटे । बैंकिङ २३, विकास बैंक १३५, फाइनान्स ५८, होटल तथा पर्यटन १७८, जलविद्युत् ७, लगानी १, जीवन बीमा ३२९, माइक्रोफाइनान्स ७८, निर्जीवन बीमा ८२, र अन्य समूहको सूचक २३ अंक घटे । समग्र बजार घट्दा पनि १० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

सूर्याज्योति लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७ दशमलव ४ प्रतिशत घट्यो । उन्नति सहकार्य लघुवित्तको ७ दशमलव २, गरिमा विकास बैंकको ६ दशमलव ८, युनियन हाइड्रोपावरको ६ दशमलव ५, घलेम्दी हाइड्रोको ६ दशमलव १, नेरुडे लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमकाआधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन डिस्टिलरी, हाथवे इन्भेस्टमेन्ट र घोराही सिमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका