Thu May 19 2022
देश

विमानस्थलका सरसफाइकर्मी प्रयोग गरेर सुन तस्करी, कर्मचारीसहित पाँच जना पक्राउ

काठमाडौं । विमानको शौचालयभित्र राखिएको डस्टबिनमा सुन लुकाएर तस्करी भएको प्रहरीले भेटेको छ ।

आज दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको याङवरक ५ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादी५ का २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङका २ का २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर२ का ४१ वर्षीय हेमबहादुर थापा र सप्तरीको सुरुङ्गा४ का ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् ।

चौधरी हिमालय एयरलाइन्सको विमानमा सफाइ कर्मचारी उपलब्ध गराउने कम्पनी सुनगाभा सप्लायर्स एन्ड सरसफाइका सुपरभाइजर हुन भने माबो र तामाङ सरसफाइ कामदार हुन् ।

माबोले विमानको शौचालयभित्र रहेको डस्टबिनमा राखिएको सुन लिएर बाहिर आएको र फोहोर जम्मा गर्ने ठाउँमा सुमनसँग बाँडेर बाहिर पास गर्न खोजेको विमानस्थल प्रहरीको दाबी छ । थापा ट्याक्सी चालक हुन् ।

थापा र राई सुन लिन बाहिर कुरिरहेको अवस्थामा पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।