Mon May 23 2022
मुख्य खबर

केशव स्थापितको उम्मेदवारी रद्द गर्न माग

काठमाडौँ– स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितमाथि कारबाही गर्न विभिन्न महिला अधिकारवादी संघ संस्थाहरुले माग गरेका छन् ।

एक चुनावी अन्तरक्रियाका क्रममा एक युवतीले गरेको प्रश्नको प्रतिवाद गर्दै स्थापितले प्रयोग गरेको शब्द आपत्तिजनक निकृष्ट रहेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा कारबाही गर्न माग गरेका हुन् ।

संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ती संघसंस्थाहरुले मेयर उम्मेदवार स्थापितलाई पार्टीले तुरुन्त कारबाही गरी उम्मेदवारी रद्द गर्नु पर्ने माग गरेका छन् ।

संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरुद्धको हक र सामाजिक न्यायको हकविरुद्ध स्थापितले अभिव्यक्ति दिएको अधिकारवादी संघसंस्थाको ठहर छ ।

सार्वजनिक कार्यक्रममा महिलामाथि घृणित शब्द प्रयोग गरेको भन्दै आलोचित बनिरहेका स्थापितले भने आफूमाथि झुटो आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् ।