Fri May 27 2022
मुख्य खबर

बाढीले बगाएर बालिकाको मृत्यु

शुक्रबार साँझको करिव ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षीया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका वडा नं १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किइन् ।

घरबाट निस्किएपछि सिमसिम पानीमा दिदी र बहिनी सँगै हिँडेका थिए । घर नजिकैको बेसारेखोला खोल्सी तर्ने क्रममा एक्कासि माथिबाट बाढी आयो । लेदो माटोसहितको बाढीले दिदीबहिनीलाई एक्कासि बगायो । हात समातेर हिँडिरहेका दिदीबहिनीलाई खोलाले बगाएपछि दिदी केही तल बाँसको हाँगो समाएर फुत्किन सकिन । तर, ८ वर्षीया बहिनी शिवानीलाई दुर्गाले बचाउन सकिनन् ।

रात परिसकेका कारण दुर्गा घर फर्किइनन् । तत्कालै प्रहरी चौकी ढाकावाङ्गमा खबर गरियो । प्रहरीको टोलीले राति करिब १२ बजेसम्म खोज्दा पनि फेला नपरेपछि प्रहरी पनि रित्तो हात फर्कियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीसहित स्थानीयवासीहरू शनिबार बिहान हिलोमा गडेको अवस्थामा बालिकाको शव फेला पार्यो ।

बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ ।