Fri May 20 2022
मुख्य खबर

सिन्धुपाल्चोकमा एमाले र माओवादीका कार्यकर्ताबीच कुटाकुट

सिन्धुपाल्चोक—सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् ।

पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् ।

आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि एमालेलेलाई सचेत गराएका छन् ।