Tue May 17 2022
आर्थिक

६.०६ प्रतिशत वित्तीय र बिमा क्षेत्रको वृद्धि हुने प्रक्षेपण

काठमाडौँ – केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७८र७९ मा वित्तीय र बिमा क्षेत्रको वृद्धि ६.०६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो करिब २ प्रतिशतले बढी हो ।

कोभिडको जोखिम कम भएपछि मुलुकमा आर्थिक गतिविधि बढेका छन् । यसले बैंकिङ र बिमा क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकाले चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदरमा सुधार देखिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्मको प्रगति र बाँकी तीन महिनाको सम्भावित गतिविधिका आधारमा विभागले यस्तो प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा ४.०५ प्रतिशत रहेको वित्तीय र बिमा क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्षमा ०.३५ प्रतिशत ऋणात्मक थियो । मुलुकमा आर्थिक गतिविधि चलायमान भएसँगै वित्तीय र बिमा क्षेत्रका गतिविधि पनि बढेकाले चालु आर्थिक वर्षमा यो क्षेत्रको वृद्धिदरमा सुधार देखिएको हो ।

कोभिडका कारण गएका दुई वर्ष यी क्षेत्रका गतिविधि पनि प्रभावित भएका थिए । तर चालु आर्थिक वर्षमा परिस्थिति सुधारोन्मुख रहेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७४/७५ मा वित्तीय मध्यस्थता क्षेत्रको वृद्धिदर ९.४३ प्रतिशत थियो । आर्थिक वर्ष २०७५/७६ मा आउँदा यस्तो वृद्धिदर ६.३५ प्रतिशतमा सीमित रह्यो । आर्थिक वर्ष २०७६/७७ मा यो क्षेत्रको वृद्धिदर ०.३५ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ४.०५ प्रतिशत थियो ।