काठमाडौं – कुनै पनि गर्भवती र सुत्केरी महिलाले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु पर्दछ । यो बेला परिवारले समेत उनिहरुको स्वास्थ्यको विशेष ख्याल राख्न आवश्यक छ । साथै कुनै समस्या परेमा तत्काल अस्पताल जान वा चिकित्सकको परामर्श लिन ढिलाई गर्नु हुदैँन । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यको ख्याल राख्ने केहि टिप्स निम्न छन् :
गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू:
– गर्भ बसेको २ महिनाभित्र अस्पताल गएर चिकित्सकलाई देखाउने र सबै जाँच गर्ने ।
– चिकित्सकले दिएको औषधि नियमित खाने ।
– सम्भव भएसम्म महिनामा एकपटक फलोअपका लागि अस्पताल जाने l
– यदि सम्भव छैन भने बच्चा चल्न थालेपछि अथवा ५ महिनाको गर्भ जँचाउनका जसरी भएपनि जाने ।
– गर्भ रहेकोे थाहा पाउनेबित्तिकै, पाँचौँ महिना, आठौँ महिना, चिकित्सकले तोकेको डेलिभरी डेट भन्दा एकहप्ता अघि र डेलिभरी डेटमा गरी ५ पटक अनिवार्य गर्भ जाँच गर्ने ।
– टाउको धेरै दुख्यो, बच्चा कम चल्यो, रक्तस्राब भयो, मुर्छा पर्ने लगायतका समस्या देखियो भने तुरुन्त अस्पताल जाने ।
– तागतिलो, झोलिलो खानेकुरा खाने ।
– उमालेको पानी प्रशस्त पिउने ।
– क्यालोरी, क्याल्सियम, आइरन र प्रोटिनयुक्त खानेकुरा खाने ।
– गर्भावस्थामा दिउँसोको समयमा २ घन्टा सुत्दा बच्चा र आमाको स्वास्थ्यलाई फाइदा पुग्छ ।
– गर्भावस्थामा गरिने प्रिनाटल योगा गर्ने । योग गर्दा डेलिभरीको समयमा सहज हुन्छ ।
– तनाव नलिने । सम्भव भए नियमित एउटै चिकित्सकलाई देखाउने ।
सुत्केरी भइसकेपछि ध्यान दिनुपर्ने कुराहरू:
– सन्तुलिन खाना खाने ।
– पर्याप्त आराम गर्ने ।
– सरसफाइमा ध्यान दिने ।
– स्तन गान्निने, स्तन पाक्ने समस्या हुन सक्छ, त्यसैले बच्चालाई दूध चुसाइरहने ।
– दूध आएन भने पनि चुसाइरहने ।
– ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो हुने भएमा चिकित्सकको परामर्श लिने ।
– योनिबाट रगत बग्ने, पिपजस्तो योनीस्राब हुने, तल्लो पेट धेरै दुख्नेजस्ता समस्या आएमा तत्काल अस्पताल जाने ।
– दैनिक पिसाब भएन चिकित्सकसँग सल्लाह लिने ।
– सुत्केरी अवस्थामा विभिन्न खाले मानसिक समस्या देखिन सक्छ, त्यसैले परिवारले सुत्केरीको राम्रोसँग हेरचाह गर्ने ।