Wed May 18 2022
मुख्य खबर

मेयर भएको भोलिपल्टबाटै महानगरवासीको सेवाको काममा लाग्छु : केशव स्थापित

एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताउनु भयो ।

उहाँले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गर्नु भयो । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाई छ ।

एमालेबाट उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई विदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताउनु भयो ।

डंगोलले महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने बताउनु भयो ।