Wed May 18 2022
मुख्य खबर

लुटपाटपछि हत्या गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं– काठमाडौंको भगवानपाउमा लुटपाटपछि एकजना व्यक्तिको हत्या घटनामा फरार रहेका व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले यही वैशाख २ गते भएको हत्या घटनामा संलग्न रहेको आरोपमा २६ वर्षका युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिना छन्।

यही वैशाख २ गते काठमाडौंको भगवानपाउमा २ जना व्यक्तिले लुटपाटपछि १ व्यक्तिको हत्या गरेका थिए। घटनाको अनुसन्धानका क्रममा हत्या गरिएका व्यक्ति ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतम भएका खुलेको थियो।

पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भूमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।