Mon May 23 2022
मुख्य खबर

वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडी – बैतडीको डिलासैनी गाउँपालिका(५ का वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गठबन्धनका तर्फबाट वडा सदस्यका उम्मेदवार हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउदबाट एक घरबाट अर्को घरमा जाने क्रममा बीच बाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहारबाट घाइते साउदको हात, मुख र टाउकोमा चोट लागेको छ ।

खुकुरी प्रहारबाट घाइते भएका साउदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको बिष्टले बताए । घटनाबारे जानकारी आएको र थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताएका छन् । घटनास्थलमा प्रहरीको टोली खटाइएको खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको बताइएको छ ।