Tue May 17 2022
मुख्य खबर

मैले संगत नै नगरेको महिलासँग आरोप लगाइयोः केशव स्थापित

नेकपा (एमाले) का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गर्नु भएको छ ।

आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गर्नुभयो । आज काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा उहाँले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गर्नु भयो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उहाँको जिकीर थियो ।

मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताउनु भयो । आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उहाँले पटकपटक दोहो-याउनु भयो ।

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताउनु भयो । उहाँले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताउनु भयो ।