Mon May 23 2022
मुख्य खबर

देशव्यापी चुनावी सभालाई प्रधानमन्त्री देउवासहित कांग्रेस शीर्ष नेताहरूले सम्बोधन गर्ने

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित गरेर देशका प्रमुख १० शहरमा चुनावी सभा गर्ने भएको छ ।उक्त चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा रूपन्देहीको बुटवलमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालीको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।

चुनावी सभालाई सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टीका प्रवक्ता डा।प्रकाशशरण महत लगायतका नेताहरूले सम्बोधन गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।