Sat May 21 2022
मुख्य खबर

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या छ: डा. युवराज खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताउनु भएको छ ।

आज काठमाडांैमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनु भएको हो । उहाँले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रुपमा ६,७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा हुने समस्या वर्षैसम्म भइरहने बताउनुभयो ।

डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने बस्तु निर्यात गर्ने गरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले पछिल्लो समय धेरै लगानी जलविद्युतमा भएको बताउनु भयो ।

जलविद्युतमा धेरै ठूलो लगानी विस्तार गरेर बुढीगण्डकी जस्ता चार वटा आयोजनाहरु एकै चोटी निर्माण गरेर वर्र्षको डेढ खर्बदेखि २ खर्ब ऋण रिपेमेन्ट गर्न थाल्यौ भने नेपाल श्रीलंकाको बाटोमा जाने डा. खतिवडाले बताउनुभयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले पछिल्लो समय रुस र युक्रेनको युद्धको कारणले मुलुकको अर्थतन्त्रमा थप चुनौती देखिएको बताउनुभयो ।

उहाँले युद्धको कारण पेट्रालियम पदार्थको मूल्य निरन्तर रुपमा बढ्दै गएकाले थप चुनौती बढेको बताउनु भयो । विश्वमा नै ३ प्रतिशतले आयात बढ्ने देखिएकाले विश्व अर्थतन्त्रमा नै चुनौती देखिएको भट्टले बताउनुभयो । उहाँले राष्ट्रिय तथ्याङक विभागको तथ्यांक उल्लेख गर्दै नेपालमा आर्थिक गतिविधिहरु चलायमान भइरहेको बताउनु भयो । प्रवक्ता भट्टले पछिल्लो समय ९० प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आएको बताउनु भयो ।

यता एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार केसीले पछिल्लो समय अर्थतन्त्र चलायमान भएकाले बैंकहरुले विगतमा लगाएको लगानी प्रभाव देखिएको बताउनु भयो ।

उहाँले बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकले कृषिमा ३० प्रतिशत र माइक्रोफाइनान्समा ३८ प्रतिशत र समग्र उत्पादन उद्योगमा ४५ प्रतिशत लगानी भईरहेको बताउनुभयो ।

सिइओ केसीले बैंकहरुले कृषिमा लगानी गछौं भने दुई प्रतिशतको प्रिमियममा लाग्ने अवस्था रहेकाले समस्या देखिएको बताउनुभयो ।

सिइओ केसीले अहिले पनि बजारमा लगानी योग्य रकम अभाव भइरहेको बताउनुभयो ।