Mon May 16 2022
मुख्य खबर

सुदूरपश्चिमका जनातालाई निर्वाचनले छोएन, भारत जानेको संख्या ह्वात्तै बढ्यो

दिनेश बिष्ट- तत्कालका लागि खाने चारो छैन । घर परिवार चलाउने उपाय छैन । गरिखाउँ भने रोजगारी छैन । यस्ता पीडाहरुको सामना गरिरहेकाहरुलाई स्थानीय निर्वाचन र मतदान भन्ने विषयले पटक्कै छोएको छैन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा आफ्नो क्षेत्रका जनप्रतिनिधिहरुलाई जिताएर पठाए । तर आफुहरुको जीवनमा कुनै परिवर्तन नआएपछि सुदूरपश्चिमका सर्वसाधारणहरु कामको खोजीमा मुग्लान पस्न बाध्य भएका छन ।

चुनाव नजिकिँदै जाँदा सुदूरपश्चिमको गौरीफन्टा नाकामा भारतबाट स्वदेश फर्किनेहरुको संख्याभन्दा भारत जानेहरुको संख्या ह्वात्तै बढेको छ ।

स्थानीय तहका जनप्रतिनिधिले ५ वर्ष कार्यकर्ता पोस्ने र भ्रष्टाचार गरेर मात्र बिताएको भन्दै सुदूरपश्चिमका मतदाता आजित भएका छन । गाउँ ठाउँ र देशको विकासभन्दा पनि आफ्नै विकासमा जनप्रतिनिधि केन्द्रीत देखिएकाले मतदान गर्न छाडी रोजगारीका लागि भारत जान थालेको उनीहरुले बताएका छन ।

अछामको कमलबजार नगरपालिकाका भरत कोलिले गाउँमा रोजगारी कसैले नदिने भएकाले भोट नहाली भारत जान लागेको बताएका छन् । भारत जाने तयारी गर्दै गर्दा केही उम्मेद्वारले नजान भनेपनि गत निर्वाचनपछि ५ वर्षसम्म भ्रष्ट्राचार मात्र भएको भन्दै मतदान नगरी रोजगारीका लागि भारत तर्फ लागेको बताए ।

कैलालीको लम्किचुहा नगरपालिकाका भास्कर जोशी नेताहरुलाई भोट दिएर परीवार पाल्न नसकिने भन्दै मतदान नगरी भारत पस्न लागेका हुन ।

निर्वाचनमा मतदान गरी जिताएका नेताहरुले आफ्नालाई भरण पोषण गर्ने र भ्रष्ट्राचारमा लिप्त हुने भएकाले मतदान नगरी मुग्लान जान लागेको दुखेसो पोखे । सुदूरपश्चिमबाट ५ पटक शेरबहादुर देउवा प्रधानमन्त्री भईसक्दा पनि भारत जानु पर्ने बाध्यता उस्तै रहेको गुनासो पोख्दै उनले कुनै पनि नेतालाई जिताएर जनतालाई फाईदा नरहेको बताए ।

सुदूरपश्चिमको मुख्य नाका गौरीफन्टा भएर अहिले दैनिक नेपाल भित्रिने भन्दा बाहिरीनेको संख्या बढ्दै गएको छ । कैलालीसँग जोडीएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेक्सका इन्चार्ज गणेश साउदले निर्वाचन नजिकिए पनि भारत जानेहरुको कमी नआएको बताए । उनले नेपाल भित्रिने भन्दा जानेको सख्या उच्च रहेको जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले भने निर्वाचनपछि मात्र कामको खोजीमा जान आग्रह गर्दै आएका छन । तर २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिले ५ वर्षसम्म कुनै काम नगरेकाले अहिले पनि कामको खोजीमा बाहिरिनु परेको प्रदेशवासीहरुको गुनासो छ ।