Mon May 16 2022
मुख्य खबर

चुनाव नजिकिएसँगै उम्मेदवारहरु मतदाताको घरदैलोमा

नारायण खड्का- आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै अहिले उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् ।

तनहुँका चार नगरपालिका र ६ गाउँपालिकाका ८५ वटै वडासम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु अहिले घरदैलो तथा चुनावी गतिविधिमा सक्रिय भएका छन् । ४४५ पदका लागि तनहुँमा १ हजार ६३६ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

स्थानीय तहको निर्वाचनका कारण अहिले तनहुँको जनजीवन चुनावमय बन्दै गएको छ । गाउँदेखि शहर बजारसम्म चुनावी गतिविधिले रौनक छाएको छ ।

राजमार्ग तथा भित्री सडकहरुमा पनि विभिन्न राजनैतिक दलको झण्डा तथा चुनाव चिन्ह अंकित झण्डा राखिएका सवारी साधानको लस्करका साथै आ–आफ्नो पक्षमा मत माग्नका लागि तयार गरिएका गितहरु गुञ्जन थालेका छन् ।

तनहुँका चार नगरपालिका र ६ गाउँपालिकाको प्रमुख तथा उपप्रमुख सहित वडाध्यक्ष तथा वडा सदस्य पदमा राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु उम्मेदवारी दिएका छन ।

जिल्लाको भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका तथा देवघाट, आँवुखैरेनी, बन्दिपुर, म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिकाका ४४५ पदमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १ हजार ६३६ जना उम्मेदवारहरु अहिले चुनावी मैदानमा उत्रिएका छन् ।

तनहुँका १० वटै पालिका यतिबेला निर्वाचनमय भएका छन् । तर यसरी दल तथा उम्मेदवारहरु मतदाताको घर दैलोसम्म पुगेर आ–आफ्नो पक्षमा मत मागेपनि मतदान कसरी गर्ने र कसरी मतदान गर्दा बदर नभई आफ्नो मत सुरक्षित र सदर हुन्छ भन्ने विषयमा आफुहरुलाई जानकारी गराउन नसकेको मतदाताहरुको गुनासो छ ।

यस्तै, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ तनहुँ र जिल्ला निर्वाचन कार्यालयले संयुक्त रुपमा दमौलीमा नमूना मतदान कार्यक्रम गरेको छ ।

मतदाता शिक्षा नहुँदा नमूना मतदानमै मत बदर भएको छ । ६१ जना नमूना मतदान कार्यक्रममा सहभागि भएकोमा नगर प्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको छ । शिक्षित र बुझेकै व्यक्तिहरु सहभागि भएको नमूना मतदान कार्यक्रममा समेत मत बदर भएकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने देखिएको सोही कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

यता, जिल्ला निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले भने मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल तथा उम्मेदवारहरु लागि पर्नुपर्ने बताए ।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको बताउँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारहरुले नै घरदैलो अभियानका क्रममा मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आग्रह गरे ।

नमूना मतदान कार्यक्रममा सहभागि भएका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पनि मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थसम्म पुग्ने वातावरण निर्माण कार्य भइरहेको र मतदान अधिकृत तथा आवश्यक जनशक्ति व्यवस्थापनको काम भइरहेको उनलले बताए ।

तनहुँका चार नगरपालिकाको मेयरमा २८ जना र उपमेयरमा २१ जनाले उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा होमिएका छन् । ६ गाउँपालिकाको अध्यक्षमा ३२ र उपाध्यक्षमा ३१ जना प्रतिष्पर्धामा उत्रिएका छन् । यस्तै, ८५ वडाको वडाध्यक्षमा ३६० र १७० खुला वडा सदस्यमा ६०३ जनाको उम्मेद्वारी परेको छ ।

महिला वडा सदस्यमा २८६ र दलित महिला सदस्यमा २७५ जनाको उम्मेदवारी परेको छ । उम्मेद्वारी दिएकामध्ये ८० जना स्वतन्त्र उम्मेद्वार रहेका छन् ।