श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन् । श्रीलङ्काको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।
अर्थमन्त्रीका अनुसार करको दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताइएको छ । श्रीलङ्काले चाँडै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेटेर श्रीलङ्काको मुद्रालाई थप अबमुल्यन हुनबाट जोगाउने उपायहरू खोज्नुपर्ने उनले बताएका छन । वित्त मन्त्रीले भविष्यमा आयकर दर बढाउनुपर्ने भन्दै आफ्नो राय संसदमा राखेका थिए ।
उनले रोजगार व्यक्तिहरूलाई आफ्नो कमाइको केही अंश राज्यका लागि योगदान गर्न पनि आग्रह गरे । उक्त अवसरमा वित्त मन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वार्ताको प्रगति प्रतिवेदन संसदका सबै सदस्यहरूलाई वितरण गरिएको भन्दै सबैले आफ्नो स्थानबाट राज्यको सङ्कट टार्नका लागि योगदान गर्नुपर्ने अवस्था रहेको बताएका छन ।