Fri May 27 2022
मुख्य खबर

रामचन्द्रसँग जगन्नाथको अडानः म पछि हट्दिनँ, बरु रेनुको नाम फिर्ता गराउनुस्

चितवन – चितवन भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्‍याएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भरतपुरस्थित होटल सिराइचुलीमा करिब १० मिनेट संवाद गर्ने क्रममा उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्न नसक्ने जवाफ दिएका छन् । भरतपुरमा आज (बिहीबार) सत्ता गठबन्धनले गर्न लागेको संयुक्त चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच भेटवार्ता भएको हो । वार्तामा जगन्नाथसँगै, मीना खरेल र कृष्णलाल सापकोटा पनि सहभागी थिए ।

जगन्नाथलाई मेयरको उम्मेदवारमा खरेल समर्थक र सापकोटा प्रस्तावक छन् । तर जगन्नाथसहित उनीहरु तीनै जनालाई कांग्रेसले निष्काशित गरिसकेको छ । ‘हाम्रो पुरानै अडान छ । यहाँ कांग्रेसले मेयर पाउनु पर्छ भन्ने मेरो कुरा हो’, भेटबारे उम्मेदवार पौडेलले भने, ‘यदि मैले पछि हट्नु पर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ । त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नु पर्छ । यदि त्यसो हुन्छ भने म पछि हट्न तयार छु ।

‘मैले भनेर अब केही हुँदैन । यहाँ मेरो अघिपछि हजारौं कार्यकर्ता छन् । मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निणर्य फिर्ता लिनु उचित हुन्छ’, उनले भने, ‘म त चुनावी अभियानमा गइसकेको छु । अहिले पनि तपाईंलाई भेट्न चुनावी अभियानबाटै आएको हो । मलाई समय पनि छैन । म घर दैलो अभियानमा निस्किएँ, अब मलाई फिर्ता गर नभन्नु होला ।’ उता कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलसहित चुनावीसभालाई सम्बोधन गर्न हिजै भरतपुर उत्रिएका छन् । स्रोतका अनुसार पौडेल र सभापति देउवाबीच संवाद भएको छैन ।