Sat May 21 2022
Breaking News

स्थानिय तह निर्वाचनः कांग्रेसका प्रतिनिधि माओवादी कार्यकर्ताबाट कुटिए

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बिन्जेलको आँपबोटमा भोटको विषयलाई लिएर विवाद हुँदा माओवादी केन्द्रका कार्यकर्ताबाट कांग्रेसका वडा प्रतिनिधिसहितका युवाहरु कुटिएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन ०७९ नजिकिँदै गर्दा बिहीबार बेलुकी नौ बजे घरदैलो अभियान सकेर घर फर्किएका बलेफी गाउँपालिका-५ का वडा प्रतिनिधि कुमार तामाङसहित चार जनामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतकाअनुसार जानकारी आए लगत्तै प्रहरी पुगेको र घटनाबारे आवश्यक छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ । कुटपिटबाट चार घाइतेमध्ये वडा प्रतिनिधि तामाङको अवस्था गम्भीर रहेको र अधिकांशको टाउको, हात र ढाडमा गहिरो चोट लागेको देखिएको छ ।

दुवै समूहको पक्षमा के कसरी झडप भएको भन्नेबारे आवश्यक अनुसन्धान शुरु गरिएको र यस्ता गतिविधि हुन नदिन सुरक्षाकर्मी सक्रिय रहेको उनले बताएका छन् ।

‘यसबारे थप बुझ्दैछौं, स्थलगत रुपमा अनुसन्धान हुँदैछ,’ डीएसपी बस्नेतले भने । कुमारसहित घाइते खड्गबहादुर तामाङ, बयान तामाङ र सुवास तामाङको बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मीले बोतल, ढुंगा प्रहारले कुमारको करङ भाँच्चिएको र बाँकी तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताएको कांग्रेस बलेफी गाउँपालिका सभापति रामकुमार तामाङले बताए ।

माओवादी केन्द्रका वाईसिएल फोर्सबाट योजनाबद्ध ढंगले गरिएको सामुहिक आक्रमणले घाइते चार जनामध्ये एकको अवस्था गम्भीर देखिएको उनले आरोप लगाए । ‘तीन जनाको शरीरभरि निलडाम छन् भने टाउकोमा चोट लागेका वडा प्रतिनिधि तामाङलाई स्वास्थ्यकर्मीले धुलिखेल रिफर गरेका छन्, मत माग्ने सबैलाई अधिकार छ, यो साह्रै दुखद घटना भयो’, तामाङले भने ।

यसबारे माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले भने आचारसंहिताको विषयलाई लिएर सामान्य विवाद मात्रै भएको पाइएको बताएका छन् । माओवादी केन्द्रका कार्यकर्ता भने कोही पनि घाइते नभएको उनले जनाए । ‘दुवैबीच सामान्य विवादको कुरा आएको छ, ’ उनले भने ।