Sat May 21 2022
खेलकुद

भलिबलमा न्यू डायमण्डको दशककै खराब नतिजा

एनभीए क्लब लिग भलिबल प्रतियोगिताको साविक विजेता न्यू डायमण्ड स्पोर्टस क्लब यस संस्करणमा जितविहीन हुँदै बाहिरिएको छ । काठमाडौंमा जारी लिगको अन्तिम खेलमा शुक्रबार न्यू डायमण्डले एपीएफसँग ३–० को सोझो सेटमा पराजय ब्यहोरेको हो ।

गत असोजमा आयोजित एनभीए लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्ड सोही आधारमा लिगका लागि छनोट भएको थियो । च्याम्पियनसिपका शीर्ष पाँच टोलीबीच राउण्ड रोविन लिग प्रणालीमा प्रतिस्पर्धा गराइएको थियो ।

न्यू डायमण्डले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजय ब्यहोरेको थियो । त्यसयता तीन खेलमा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँग सोझो सेटमा पराजित भएको हो ।

राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी सेटर अरुणा शाहीले तीन वर्षदेखिको न्यू डायमण्डको आवद्धता यसै वर्षदेखि तोडिन् । मुख्य स्पाइकर प्रतिभा माली पुरानो चोट बल्झिएसँगै उपचारपछि आराममा छिन् । अर्की स्पाइकर झरना श्रेष्ठले पारिवारिक कारण देखाउँदै भलिबल छाडेपछि न्यू डायमण्ड कमजोर भएको हो ।

प्रशिक्षक कुमार राईले प्रतियोगिताअघि नै यसपल्ट टिमको सफलताको आशा नरहेको बताएका थिए । २०६४ सालदेखि महिला भलिबलको प्रशिक्षण सुरु गरेको न्यू डायमण्डले २०६९ सालमा पहिलोपल्ट एनभीए क्लब लिगको विजेता बनेको थियो । त्यसयता उसको यो सबैभन्दा खराव प्रदर्शन हो ।