Mon May 16 2022
देश

विधुर पुरुषका लागि पनि भत्ताको व्यवस्था गर्छु: सिर्जना सिंह

काठमाडौँ – नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावीसभामा नेतृ सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् ।

काठमाडौँ महानगरमा फोहोरको समस्या, सडकको समस्या, बेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने पनि बताइन् । युवाहरूका लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ । ‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् ।

शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ,’ उनले भनिन् । गृहिणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विधुर पुरुषहरूका लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैँ घण्टा काठमाडौँका बजार खुल्ला गर्ने गरी पहल गर्नेसमेत उनले बताइन् ।

‘यसका लागि म एक्लैले सक्दिनँ । यसमा म त एउटा पात्र मात्र हुँ । यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौँको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु,’ सिंहले भनिन् । काठमाडौँ सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ । काठमाडौँका मतदाताको शिर निहुरीने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन् ।

‘म महानगरमा कामका लागि आउने दाजुभाइ दिदिबहिनीको शिर निहुरिन दिने छैन । म काठमाडौँलाई महान घर जस्तो बनाएर राख्नेछु । यहाँ आउने सबैलाई राम्रोसँग सेवा प्रवाह गर्नेछु ।’ सिंहले भनिन् ।