Thu May 19 2022
मुख्य खबर

ओलीलाई भोट माग्ने नैतिक आधार छैन : महामन्त्री थापा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गर्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताउनु भयो । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनु भयो ।

महामन्त्री थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताउनु भयो । उहाँले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेससँग रहेको पनि स्पष्ट पर्नुभयो ।

महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने दाबी गर्नुभयो । उहाँले अबको ५ वर्ष विगतको ५ वर्ष भन्दा फरक रहने पनि बताउनु भयो ।