Sat May 21 2022
मुख्य खबर

ओखलढुंगामा निर्वाचन आचारसंहिता पालना भएन

 

ओखलढुंगाका राजनीतिक दलहरुले आचारसंहिताको उल्लंघन गरेका छन ।
निर्वाचन अयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई उल्लंघन गर्दै बजारक्षेत्र नै कुरुप देखिने गरी दलहरुले चुनावी प्रचार सामाग्रीको प्रयोग गरेका हुन् ।

जिल्लामा रहेका प्रमुख तथा साना राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सदरमुकामको बजारक्षेत्र तथा चोकगल्लीमा रंगीन हुने गरी पार्टीका झण्डा तथा ब्यानरहरु बाक्लो मात्रामा झुण्ड्याएका छन् ।

सदरमुकामका प्रत्येक घर, होटल तथा पसल ब्यवसायमा पार्टीको चिन्ह अंकित झण्डा राखिएका छन् । बजार क्षेत्रका कतिपय बिद्युतीय पोलहरुमा समेत पार्टी तथा उम्मेदवारका तस्बीर अंतिक झण्डाहरु राखिएको छ ।

जिल्ला सदरमुकाम लगायत आसपासका अन्य सार्वजनिक स्थलहरुमा समेत आचारसंहिता उल्लंघन हुने गरी पार्टीको चिन्ह अंकित झण्डा राखिएको छ । तर मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यलयले भने उक्त बिषयमा खासै ध्यान दिएको छ्रैन ।

मुख्य निर्वाचन अधिकृत दल बहादुर केसीले राजनीतिक दल तथा दलका उम्मेदवारले आचारसंहिता उल्लघन गरेको बिषयमा कार्यालयमा उजुरी नपरेको र अनुगमन गर्न कार्यालयले समेत नभ्याएको बताउनुभयो ।

कतिपय राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारका लागि बालवालिकाको समेत प्रयोग गरेको पाईएको छ । राजनीतिक दल तथा दलका उम्मेदवारहरुले प्रचारसामाग्रीको प्रयोग गर्दै श्रव्य सामग्री बजाउने तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गरे त्यो आचारसंहिता बिपरित हुने कानुनी ब्यवस्था भएपनि सदरमुकाम लगायतका क्षेत्रमा उक्त नियम लागु भएको छ्र्रैन ।

जिल्लामा आचारसंहितको पलना भए नभएको बिषयमा अनुगमन गर्ने संयन्त्र भएपनि त्यस्ता संयन्त्र निष्कृय रुपमा देखिएको छ ।