नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्वय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।
अध्यक्ष दाहालले दाहाललाई आफ्नी छोरीको रुपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रुपमा प्रचार गरेर केही मानिसहरुले उनीहरुको अवमूल्यन गर्ने काम गरिरहेको बताउनु भएको हो ।
सत्तारुढ गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको चुनावी सभामा उहाँले छोरी रेणुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दावी गर्नु भयो ।
अध्यक्ष दाहालले महिला उम्मेदवारहरुमाथि विश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यकता भएको जिकीर समेत गर्नु भयो ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलाहरुलाई विशेष रुपले अघि बढाउनुपर्ने तर्क गर्नु भयो ।