Sun May 22 2022
मुख्य खबर

नमुना मतदानमै मत वदर

जिल्ला निर्वाचन कार्यायल र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा जिल्लास्थित बेनीमा नमुना मतदान सम्पन्न भएको छ ।

१०८ जनाले मतदान गरेकोमा ८६ मत मात्र पूर्ण सदर भएको छ । नमुना मतदान कार्यक्रममा एक वटा मत पूर्ण रुपमा वदर भएको र दुई वटा मतपत्र खाली रहेको थियो ।

१९ वटा मत आंशिक रुपमा वदर भएका थिए । अधिकांशले पुरै सात वटा पदका लागि मतदान गरेका थिएनन् । स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाको अवस्था पहिचान र निर्वाचन सामग्रीको परिक्षणका लागि नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यार्थी, पत्रकार र स्थानीय ब्यवसायीहरुले नमुना मतदान गरेका थिए । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा पालिका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, महिला, दलित महिला र खुल्ला वडा सदस्यका लागि मतदान हुदैछ ।

अधिकांश मतदाता कुनै दुई चिन्हमा संकेत गर्नुपर्ने खुल्ला सदस्यको मतदानमा अलमलमा परेको समेत पाइएको छ ।

निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्याक्रम सञ्चालन नगरेका कारण मतदाताहरुले मत खसाल्दा गलत गर्न सक्ने देखिएको कार्यक्रमका आयोजकले बताएको छ । यससँगै राजनीतिक दल तथा उमेद्वारहरुले भने मतदातालाई मतदान गर्ने तरिका सिकाउन थालेका छन् ।