Sat May 21 2022
अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित यमुना एक्सप्रेस–वे (सडक खण्ड) मा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक बच्चा रहेका छन् । मृत्यु हुनेमा तीन पुरुष, तीन महिला र एक बच्चा रहेका छन् । उनीहरु सबैको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

नौहझिल थाना क्षेत्र, यमुना एक्सप्रेस वेको माइलस्टोन ६८ मा उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय प्रहरीका एसपी श्रीश चन्द्रले शनिबार बिहान मथुरा–यमुना एक्सप्रेस वेमा एउटा कार एक अज्ञात सवारी बहानसँग ठोक्किएको बताएका छन् ।

सवारी दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मोदीले ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।