Tue May 17 2022
खेलकुद

भारतीय सेनामा कार्यरत गोलरक्षकले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडे

काठमाडौं – सिनियर खेलाडीले टिम छाडेपछि ल्याइएका भारतीय सेनामा कार्यरत नेपाली खेलाडी भविन्द्र मल्ल ठकुरीले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेका छन् । खेलाडी प्रशिक्षक विवादमा फस्न नचाहेको जानकारी फेसबुकमार्फत दिएर उनले प्रशिक्षण छाडेका हुन् ।

१० वर्षदेखि भारतीय सेनामा कार्यरत उनले नेपालकमो राष्ट्रिय टिममा आउन आफ्नो जागिरे जीवन छा्ेड्नुपर्ने बाध्यता र नेपाली खेलकुदमा भविष्य नरहनुलाई कारण बनाएका छन् । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी विवादका कारण अहिले सिनियर १० खेलाडी प्रशिक्षण बाहिर छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी विवादका कारण नेपालमा रहेका पहिलो रोजाइका तीन गोलरक्षक अहिले प्रशिक्षकदेखि असन्तुष्ट छन् ।

अन्य खेलाडीको स्थानमा नयाँ खेलाडीलाई ल्याएर प्रशिक्षण गराइरहेका अब्दुल्लाहले गोलरक्षकको स्थान पूर्ति गर्न भारतीय सेनामा कार्यरत मल्ललाई बोलाएका थिए । मल्ललाई भारतीय सेनाले विदेश जान रोक लगाएका कारण उनले प्रशिक्षणमा सामेल हुन नचाहेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भारतीय सेनाले विदेश जान दिएको छैन । जसका लागि मैले १० बर्षको जागिर छोड्नुरु कृपया मलाई यो विवादमा नफसाउनुस्, म भन्दा १०० जना राम्रो गोलरक्षक नेपालमा छन् । आफ्नो देशको लागि खेल्नु सबैको सपना हुन्छ । तर दुई दिन खेल्यो त्यसपछि के गर्नु ? भविष्य सुनिश्चित छ ?’

एसियन कप छनोटको बन्द प्रशिक्षणमा सुरु भएको यो विवादले अब नेपालले खेल्ने एसियन कप छनोटठलाई प्रभावित गर्ने भएको छ । नेपालले छनोट खेल्ने समूह ‘ए’मा कुवेत, जोर्डन र इन्डोनेसिया छन् । नेपाल सम्मिलित एसियन कप छनोटको सबै खेलहरु कुवेतमा हुनेछन् ।