Fri May 20 2022
बाग्मती प्रदेश

गठबन्धन निकट पत्रकार संगठनलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ – सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको हो । पत्रकारका पाँच संगठनले जारी गरेको विज्ञप्तिले आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरणसहित निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए ।

आयोगले त्यसरी विज्ञप्ति निकाल्नु निर्वाचन आचारसंहिताविपरीत र पत्रकारिताको आचारसंहिताविपरीत हुन्छ कि हुँदैन भनेर सोधेको छ । आयोगले यसरी पक्षधरता देखाएर विज्ञप्ति जारी गर्नु आचारसंहिताविपरीत भएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रेस युनियनका बद्री सिग्देल, प्रेस सेन्टरका विष्णु सापकोटा, समाजवादी प्रेसका शम्भू श्रेष्ठ, प्रेस मञ्चका केशव अर्याल र प्रगतिशील पत्रकार संघका श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।