Wed May 18 2022
मुख्य खबर

निर्वाचन टोली मतदान स्थलमा खटिदै

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने पाल्पाका कर्मचारीहरुको टोली मतदान स्थल जाने तयारी गरेका छन् ।

दुई दिनको तालिम प्रश्चात मतदान अधिकृतसहित कर्मचारी तथा सुरक्षाकर्मी मतपत्र र आवश्यक सामाग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा जाने तयारी गरेका हुन् ।

मतदान प्रकृयाका बारेमा मतदान स्थलमा खटिने कर्मचारीहरुले आफ्ना जिम्मेवारीका विषयमा प्रशिक्षण लिइएका छन । निर्वाचनमार्फत मतादाताबाट चुन्न र चुनिन पाउने अधिकारलाई सुरक्षित गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न आवश्यक तयारी भइरहेको समेत प्रमुख निर्वाचन अधिकृत खड्गबहादुर केसीले बताउनुभयो ।

पाल्पामा आसन्न स्थानीय तहको निर्वाचनका लागि १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन् । १ सय १८ मतदान स्थलमा २ सय ४७ वटा मतदान केन्द्र छन् ।

जसमध्ये ४५ वटा संवेदनशिल र १६ वटा अति संवेदनशिल मतदान स्थल रहेका छन् । मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले कडा निर्देशन समेत दिनु भएको छ ।

निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको पाइएमा कुनै पनि सरकारी सेवामा अयोग्य हुने गरी कारवाही हुने भएकाले संवेदनशिल हुन समेत प्रमुख जिल्ला अधिकारी पन्तले निर्देशन दिनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा १ हजार ८० जना म्यादी प्रहरी, ७ सय ४ नेपाल प्रहरी, २ सय १८ शसस्त्र प्रहरी, ४ सय १६ नेपाली सेना र १ हजार ९ सय ७१ जना कर्मचारी जिल्लामा परिचालन गरिएका छन् ।