Sat May 21 2022
मुख्य खबर

गठबन्धनका दलहरु जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालो : ओली

निर्वाचन आयोगले गठबन्धन बाहेकका कुनै पनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन ।

आयोगले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको उनले आरोप लगाएका छन ।

सरकारले जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भए पनि सत्तारुढ दलका नेताहरुले नै जनतालाई त्रास र धम्की दिइरहेकोप्रति अध्यक्ष ओलीले आयोगको ध्यानाकर्षण समेत गराएका छन ।

आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धन बाहेकका कुनै पनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाए ।

आयोगले नेपाली काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकाले यसबारे मुद्दा हाल्नुपर्ने विषय भएको पनि उनले बताए । अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाए ।

उनले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहिताको कार्यान्वयन आपैmँले पालना गर्न सुझाव दिए । यस्तै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको समेत टिप्पणी गरे ।

अध्यक्ष ओलीले ठूला नेताहरुले आचारसंहिता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे ।

सरकारले जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भए पनि सत्तारुढ दलका नेताहरुले जनतालाई त्रास र धम्की दिइरहेकोप्रति अध्यक्ष ओलीले आयोगको ध्यानाकर्षण गराए ।

उनले केहीदिन अघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते देश दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न समेत गरे । अध्यक्ष ओलीले माओवादी अध्यक्ष दाहालले दिएको अभिव्यक्ति आचारसंहिता विपरित भएको र ती अभिव्यक्ति अराजनीतिक वक्तव्य भएको तर्क गरे ।

उनले आफ्नो पार्टीले चाहेमा गठबन्धन हप्ता दिनमा भत्काउन सक्ने दाबी गर्दै अहिलेको गठबन्धनका दलहरुलाई जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालोको संज्ञा दिए ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई वैशाख ३० ठूलो खड्गो रहेको बताए । उनले ज्योतिषीले वैशाख ३० गठबन्धनका लागि नराम्रो खड्गो रहेको भनिरहेकाले वैशाख ३० गते गठबन्धनको ढाड भाँचिने बताए ।

अध्यक्ष ओलीले एमालेले शताब्दीऔँदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलताको अन्त्य गर्ने संकल्प लिएको बताए । उनले एमाले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको समेत बताए ।