Wed May 18 2022
अन्तर्राष्ट्रिय

बेलायतले युक्रेनलाई थप १ दशमलव ६ बिलियन अमेरिकी डलर सहयोग गर्ने

बेलायतले युक्रेनलाई थप १ दशमलव ६ बिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । बेलायतका अर्थमन्त्री ऋषि सुनकले किएभका लागि १ दशमलव ६ बिलियन अमेरिकी डलरको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ तथा युक्रेनलाई बेलायतको विद्यमान १ दशमलव ५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने समेत जनाइएको छ ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको, द सन्डे टाइम्सले जनाएको छ । डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्रले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेसन सुरु गरेको हो ।

रुसले आफ्नो विशेष अपरेसनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको जनाएको छ । रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन भने युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन ।