Sat May 21 2022
मुख्य खबर

चन्द नेतृत्वको नेकपा विभाजित

पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फँस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ ।

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फँसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताउनु भयो ।

उहाँले आफ्नो पार्टीको कार्यनीति बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पार्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पत्रकार सम्मेलनमा जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि जनाएको छ ।