Thu May 19 2022
मुख्य खबर

नेपालमा १६ सय बढी विदेशी नागरिकले लिए श्रम स्वीकृति

मेनुका लम्साल- नेपालमा रोजगारी नपाएको भन्दै अधिकांश युवायुवती विदेश जाने गरेका छन् । पछिल्लो समयमा बैदेशिक रोजगारीमा जाने युवायुवतीको क्रम बढीरहेका बेला नेपालमा पनि रोजगारीका लागि विभिन्न मुलुकबाट श्रमिक आउने गरेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आ.व.२०७६/०७७ मा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या दुुई हजार ५० रहेकोमा आ.व. २०७७/०७८ मा दुुई हजार ३९० रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

जसमध्ये चालु आर्थिक वर्ष २०७८/०७९ को मसान्तसम्मको तथ्याङ अनुसार १ हजार ६ सय हाराहरीको संख्यामा विदेशी नागरिकले नेपालमा कामका लागि नविकरण सहित श्रम स्वीकृति लिएका छन् ।

नेपालमा दक्ष र सक्षम कामदार कमी भएको बेला कुनै परियोजनासँगको सम्झौतामा विदेशी नागरिक नेपालमा आउने गरेको विभागले जनाएको छ । तर सम्झौता बमोजिम समय अवधि सकिएपछि उनीहरु स्वदेश फर्कने हुँनाले विदेशी कामदारको संख्यामा घट्बढ भइरहने गरेको विभागले जनाएको छ ।

नेपालको श्रम कानुन अनुसार रोजगारीका लागि दक्ष, विशिष्ट योग्यता भएका र प्राविधिक जनशक्ति मात्र रोजगारीका लागि विदेशबाट श्रमिक आउने गरेको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा विभिन्न मुलुकबाट कामदार आएपनि सबै भन्दा बढि संख्यामा चिनियाँ नागरिक आउने गरेको विभागले जनाएको छ ।

विदेशी नागरिकका लागि न्युनतम कार्यअवधि एक वर्ष तोकिएको विभागले जनाएको छ । जसमा पनि थप गर्नुपर्ने खण्डमा नविकरण गर्दै ३ वर्षसम्म र त्यसभन्दा माथिको समय आवश्यक परेको खण्डमा मन्त्रालयमार्फत थप गर्ने व्यवस्था रहेको छ ।

दक्ष जनशक्ति भएको खण्डमा नेपाललाई आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको प्रमाणित गर्दै आवश्यकता परिपूर्ती गरेकाले करिब ७ वर्ष नेपालमा रोजगारी गर्न पाउने व्यवस्था छ ।