स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ ।निर्वाचन आचारसंहिताअनुसार मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न नभएसम्म मौन अवधि कायम रहनेछ ।
आयोगका अनुसार मौन अवधिमा प्रचार प्रसारलगायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुनेछ। आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन।
निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला, गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।