Tue May 17 2022
मुख्य खबर

स्वेडेनका हेसलमार्कले जिते विश्वकै कठिन ट्राइयाथलनको उपाधी

कास्की – पोखराबाट सुरुभएको प्रतियोगिता अन्तर्गत ३।८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड धावक हेसलमार्कले १६ घन्टा ८ मिनेट १२ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन्। उनले फेवातालमा सम्पन्न ३।८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाए।

प्रतियोगितामा चेक रिपब्लिकका फिलिप सोल्क दोश्रो भएका छन्। उनले निर्धारित दुरी पुरा गर्न १६ घन्टा २९ मिनेट २६ सेकेण्ड लगाए। उनले पौडीका लागि ४५ मिनेट ३८ सेकेण्ड, साइक्लिङका लागि ६ घन्टा १९ मिनेट २८ सेकेण्ड र दौडका लागि ९ घन्टा १४ मिनेड १८ सेकेण्ड लगाएका थिए। त्यसै गरी तेश्रो स्थान प्राप्त गरेका चेक रिपब्लिकका पिटर भावरोसेकले उक्त दुरी १६ घन्टा ४० मिनेट ५७ सेकेण्डमा पुरा गरेका थिए। उनले पौडी ४६ मिनेट ६ सेकेण्ड, साइक्लिङ ६ घन्टा ४० मिनेट ४७ सेकेण्ड र दौड ९ घन्टा ३ मिनेट २० सेकेण्डमा पुरा गरेका थिए।

नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन्। सहभागी विभिन्न १७ देशका सहभागी मध्ये १२ जनाले रेस पुरा गरेको आयोजक मध्येका एक दिवश योन्जनले जनाएका छन्। रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४००० मिटरको उचाई छुन भने असफल भइन्।

उपाधि जितेपछि पत्रकार संग कुरा गर्दै हेसलमार्कले आफू विभिन्न देशमा प्रतियोगितामा सहभागी भए पनि नेपालको अनुभव निकै रोमाञ्चपूर्ण रहेको बताए। पोखरामा भएको प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक भएको उनले बताए। प्रतियोगितामा सहभागिले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाँएको पनि उनले सुनाए।

प्रतियोगिताको विजयी खेलाडीलाई मेडल र टिशर्ट वितरण गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले यो प्रतियोगिताले पोखरालाई साहासिक खेलकुदको गन्तव्य बनाउन निकै सहयोगी रहने बताए।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको विश्यकै कठीन प्रतियोगिता सफल रहेको बताए। निकै चुनौतीपूर्ण रहेको यो प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने योन्जनले बताए।

प्रतियोगितामा नेपाल सहित १७ देशका सहभागी खेलाडी र उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए। उनीहरु प्रतियोगिताका लागि करिव एक साता भन्दा वढी पोखरा रहेर अभ्यास समेत गरेका थिए।

प्रतियोगिता अन्तर्गत फेवतालमा ३.८ किमी पोडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हो। खेलाडीहरु साइकलबाट पोखरा हुँदै बागलुङ कलिकास्थान मन्दिर हुँदै फर्किएर पुनः कास्कीको काँडेबाट दौड सुरु गरेका थिए। कास्कीको पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै पुनः कास्कीको माछापुच्छ्रेस्थित ल्वाङमा पुगेर प्रतियोगिता सम्पन्न भएको थियो।