Mon May 16 2022
आर्थिक

नेपाली मुद्राको अवमूल्यन उच्च

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन इतिहासकै उच्च अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले मङ्गलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ ।

भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन भएपछि नेपाली मुद्रा पनि स्वचालित रूपमा कमजोर बनेको हो ।

भारतीय रुपियाँ एक सयको नेपाली रुपियाँ १६० स्थिर विनिमय दर छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च हुँदै गएकाले डलरको मूल्य बढेको र अन्य मुद्राको अवमूल्यन भएको हो ।

अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा डलर अझै महँगिने आकलन अर्थशास्त्रीहरूको छ ।

डलर महँगो हुँदा नेपाली अर्थतन्त्रलाई समग्रमा नोक्सानी नै हुने आँकलन नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको छ ।

“आयातमुखी अर्थतन्त्र भएकाले हामीलाई थप समस्या पर्ने देखिन्छ, यसै त विदेशी मुद्रा सञ्चिति खस्केको छ, यही बेला डलर बलियो बन्दा खरिदमा अझै बढी खर्चनुपर्ने भएको छ । यसबाट मूल्यवृद्धि दोहोरो अङ्कसम्म पुग्न सक्छ,” उनले भने ।

यसले निर्यातमा सकारात्मक प्रभाव पार्ने सक्ने भए पनि नेपालको निर्यात ज्यादै कम रहेकाले त्यसको लाभ कम हुनसक्छ । डलर महँगो हुँदा रेमिट्यान्स भित्रिने क्रम बढ्छ भने पर्यटक आगमन बढ्न लागेकाले केही फाइदा अर्थतन्त्रलाई हुन सक्छ । तर समग्रता आयात उच्च भएकाले नकारात्मक प्रभाव नै बढी रहने डा। नेपालको ठम्याइ छ ।

अमेरिकाको केन्द्रीय बैङ्कले आधार दर ०।५ प्रतिशतले वृद्धि गर्दा अमेरिकामै डलरको माग बढ्न थालेको बताइएको छ ।

साथै अमेरिकामै लगानी प्रोत्साहनका कार्यक्रम आएपछि अमेरिकी अर्थतन्त्रमै लगानी विस्तार हुँदाको असर पनि डलर बलियो बन्दै गएको अर्थशास्त्री डा। चन्द्रमणि अधिकारीले बताए ।

“रुस–युक्रेन युद्धका कारण पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले डलर सञ्चतिलाई नै प्राथमिकतामा राखेकाले पनि डलर बलियो भएको हो, डलर बलियो बन्नेक्रम अझै बढ्न सक्छ,” उनले भने ।

डलर महँगो हुँदा अर्थतन्त्रमा पर्ने नकारात्मक असरबाट जोगिन राष्ट्र बैङ्क अझै चनाखो बन्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै डा। नेपालले आयात निरुत्साहनका लागि राष्ट्र बैङ्कले चालेका कदम अझै प्रभावकारी बनाउन सुझाव दिए ।

“विदेशका समस्याले नेपाली अर्थतन्त्रमा परेका नकारात्मक असरको मात्रा बढ्दै गएकाले त्यसको दीर्घकालीन उपाय कार्यान्वयनमा सबै सरोकारवाला लाग्नुपर्छ, अब निर्यात बढाउने उपाय खोजेर अर्थतन्त्रलाई बलियो बनाउनैपर्छ,” उनको सुझाव छ ।

गोरखापत्र दैनिकमा खबर छ ।